काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहभागी हुने भएका छन्। उनी आगामी भदौ २१ गते काठमाडौंमा आयोजना हुने पहिलो क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा सहभागी हुने भएका हुन्।
अग्रवाल हाल नेपाल चेम्बर अफ कमर्सको अध्यक्षका रूपमा कार्यरत छन्। उनी नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा प्रवर्द्धक समूहको प्रतिनिधित्व गर्दै आएका छन्। त्यस्तै, उनी काठमाडौं उपत्यका खानेपानी, नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष हुन्। अग्रवालले सिटी होटल्स, ग्रीन भेन्चर्स, चम्पादेवी इको–फ्रेन्डलीलगायतका कम्पनीमा सञ्चालकका रूपमा समेत काम गरेका छन्। साथै, उनीसँग राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषमा सञ्चालकका रूपमा काम गरेको लामो अनुभव रहेको छ।
नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो। पुँजी बजारमा नीतिगत सुधार, नियामकीय अवस्थाको समीक्षा तथा सुधारका विषयमा छलफल गर्नुका साथै लगानीकर्ताको हकहित संरक्षण र शेयर शिक्षा विस्तार गर्ने उद्देश्यले डिस्कोर्श आयोजना गर्न लागिएको हो। क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित विभिन्न सत्रमा छलफल हुनेछ।
डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमनः नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजारः सचेतना र साक्षरताको भूमिका’ र तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ विषयमा केन्द्रित हुनेछ। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्टसँग विशेष डुओलग समेत आयोजना गरिनेछ। सत्रगत छलफलमा नियमन तथा नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा तथा शेयर बजारमा प्रविधि र नवप्रवर्तनलगायतका विषयमा छलफल हुनेछ।
डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।






About Us
प्रतिक्रिया