टनेलमा फसेकाको उद्धारमा सरकार चुकेको छ: सांसद बराल


काठमाडौं-नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले भदौ १० गते रसुवाको भाेटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सरकारले देखाएको सक्रियताको प्रशंसा गर्दै विद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेका निर्माणकर्मी र प्राविधिकहरूको उद्धारमा भने गम्भीर कमजोरी भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले प्रारम्भिक उद्धार तथा राहत कार्यमा सरकारको प्रयास सकारात्मक भए पनि विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकलाई समयमै सुरक्षित निकाल्न नसकिएको बताए।

‘सरकारले जेजति गरेको छ, त्यसका लागि धन्यवाद दिनुपर्छ। तर विद्युत् आयोजनाको टनेलमा फसेका निर्माणकर्मी र प्राविधिकहरूको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको छ,’ सांसद बरालले भने, ‘निर्माण क्षेत्रमा खटिएका कम्पनीहरूलाई सुरुमै उद्धार अभियानमा सहभागी गराउन सकेको भए धेरै फसेका नागरिकलाई बचाउन सम्भव हुन्थ्यो।’

सांसद बरालले बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी तथा पारदर्शी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न पनि सरकारसँग माग गरे। उनले विपद्पछिको व्यवस्थापन, राहत वितरण र पुनर्निर्माण कार्यको नियमित अनुगमन तथा मूल्याङ्कनका लागि यस्तो संयन्त्र आवश्यक रहेको बताए।