काठमाडौं – एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। बाढी प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।
यसैगरी, एनएमबि क्यापिटलका कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी विभिन्न राहत सामग्री खरिद तथा व्यवस्थापन गरेका छन्। ती राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, टेकुमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एनएमबि क्यापिटलले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै बेपत्ता नागरिकहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गरेको छ। एनएमबि क्यापिटलले विपद्का बेला प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सहयोग गरेको जनाएको छ।






About Us
प्रतिक्रिया