कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा उपभोक्ताको लामो लाइन


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न सडक क्षतिका कारण धादिङको कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।

सङ्घीय राजधानी काठमाडौं भित्रिने मुख्य नाकाका रूपमा रहेको पृथ्वी राजमार्ग आइतबारदेखि अवरुद्ध भएपछि ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। यसले उपत्यकाको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पार्न थालेको छ।

सडक अवरुद्ध भएसँगै काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ। अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा विगत पाँच दिनदेखि ग्यास लिन सर्वसाधारणको लामो लाइन लागिरहेको छ। ग्यास अभावका कारण धेरै उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर घर फर्किनुपरेको गुनासो गरेका छन्।

रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक कटान, पहिरो र लेदो थुप्रिएर यातायात सेवा प्रभावित हुँदै आएको थियो। त्यसैबीच कृष्णभीरमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएपछिकाठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था थप संकटमा परेको हो।

खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधन उपत्यका प्रवेश गर्न नसक्दा आगामी दिनमा अभाव अझ गम्भीर बन्न सक्ने चिन्ता बढेको छ। यद्यपि सम्बन्धित निकायले पहिरो पन्छाउने तथा राजमार्ग सञ्चालनमा ल्याउने काम तीव्र रूपमा अघि बढाएको जनाएको छ।