काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको वक्तामा भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमिल्सिना सहभागी हुने भएका छन्। भदौ २१ गते हुने डिस्कोर्शको वक्ताका रूपमा उनी सहभागी हुने भएका छन्।
डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमनः नेपालको पुँजी बजारको भविष्य’ मा उनी सहभागी हुने भएका हुन्। उनले नेपाल स्टक एक्सचेन्ज नेपाल लगानीकर्ता फोरमका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स पुँजी बजार समितिको सदस्य, अप्टिमिस्ट इन्टरनेसनल नेपाली पुँजी बजार (संस्था) का संस्थापक अध्यक्षका रुपमा काम गरिसकेका छन्।
नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा नेपाल क्यापिटल मार्केट डिस्कोर्श हुन लागेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो।
क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमनः नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजारः सचेतना र साक्षरताको भूमिका’ तेस्रो सत्रमा ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ नामक सत्र गत छलफल हुनेछन्।
यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।
डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।






About Us
प्रतिक्रिया