प्रधानमन्त्री दैवी प्रकोप कोषमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजद्वारा ११ लाख बढी सहयोग


काठमाडौं – क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कम्पनीले विपद्मा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

विज्ञप्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार, प्रभावित परिवारलाई राहत वितरण र पुनर्स्थापना तथा जोखिममा रहेका नागरिकहरूको सुरक्षाका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह, उद्धारकर्मी तथा सामाजिक संघसंस्थाले गरिरहेको प्रयासप्रति सम्मान व्यक्त गरिएको छ।

कम्पनीले विपद्को समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामूहिक सहयोग नै प्रभावित समुदायको पुनर्स्थापनाको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरेको छ।