काठमाडौं- ‘म बैंकको कर्मचारी हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ। अपडेट नगरे बैंक खाता बन्द हुन्छ’ भन्दै सर्वसाधारणलाई झुक्याएर रकम ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोमा दर्ता भएको विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरको अनुसन्धानका क्रममा अभय तिवारी, विद्यासागर केवट, जयकुमार केवट र कुबेर थापा पक्राउ परेका हुन्। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारी भएको भन्दै सम्पर्क गर्ने गरेका थिए। केवाईसी अपडेट नगरे बैंक खाता बन्द हुने भन्दै सेवाग्राहीलाई त्रसित बनाएर उनीहरूले मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, मोबाइल बैंकिङ्गको पासवर्ड तथा ओटीपी माग्ने र त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको साथबाट बरामद गरिएका मोबाइल फोन तथा सिमकार्ड परीक्षण गर्दा ठगीका लागि २८ वटा मोबाइल नम्बर तथा ह्वाट्सएप नम्बर प्रयोग भएको पाइएको साइबर ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार तीमध्ये कुनै नम्बरबाट आफूलाई बैंक वा वित्तीय संस्थाको कर्मचारी बताउँदै फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गरिएको, केवाईसी अपडेट, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर गर्न भनिएको अथवा त्यसका कारण आर्थिक हानि–नोक्सानी भएको भए साइबर ब्युरोमा जाहेरी दिन अनुरोध गरिएको छ। साइबर ब्युरोले बैंक तथा वित्तीय संस्थाका कर्मचारी भन्दै अपरिचित व्यक्तिले ओटीपी, पासवर्ड वा मोबाइलको स्क्रिन सेयर गर्न आग्रह गरेमा कुनै पनि विवरण उपलब्ध नगराउन सर्वसाधारणलाई सचेत गराएको छ।






About Us
प्रतिक्रिया