रुपन्देहीका मालपोत अधिकृतसहित ५ जनाविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मालपोत कार्यालय, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत–९ ‘ख’ अन्तर्गतका कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२ र ९४ का जग्गा हदबन्दीमा परेपछि तत्कालीन जग्गाधनी सुर्जा मिश्राइनले कालीजी मन्दिरलाई दान दिएको तथ्य प्रमाणबाट देखिएको थियो।

ती जग्गामा हाल पनि कालीजी र शिवजीका मन्दिर रहेको तथा स्थानीय गाउँ समाजले परम्परादेखि नै पूजा–पाठ गर्दै आएको आयोगले जनाएको छ। आयोगका अनुसार हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छाडिएको उक्त जग्गा सरकारको नाममा दर्ता हुन बाँकी रहेको अवस्थामा पछि व्यक्ति विशेषको नाममा दर्ता गरिएको थियो।

अनुसन्धानका क्रममा फिल्डबुकका विभिन्न महलमा समेत कुनै व्यक्तिको नाम उल्लेख नभएको र सुर्जा मिश्राइनले २०२२ सालमै हदबन्दीका कारण जग्गा छाडेको प्रमाण भेटिएको आयोगले जनाएको छ। तर, पर्वतराज कान्त मिश्रको नाममा ती जग्गा दर्ता गरी त्यसपछि नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गर्ने र त्यसबापत प्राप्त हुने मुआब्जा रकम लिनेदिने उद्देश्यले प्रक्रिया अघि बढाइएको अख्तियारको दाबी छ। 

आयोगले यस क्रममा रुपन्देही जिल्ला अदालतमा भएको मिलापत्र तथा उच्च अदालत तुल्सीपुर, बुटवल इजलासबाट जारी परमादेशको समेत गलत अर्थ लगाई जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराइएको आरोप लगाएको छ। अख्तियारका अनुसार हदबन्दीमा परी सार्वजनिक भइसकेको जग्गा पछि जुनसुकै व्यहोराबाट अपुताली, नाता वा मिलापत्रका आधारमा समेत व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ।

त्यसका बाबजुद भूमिसम्बन्धी कानुनको सामान्य प्रक्रिया पालना नगरी सम्बन्धित भूमिसुधार कार्यालय तथा स्थानीय तहलगायत सरोकारवालालाई बेवास्ता गर्दै जग्गा दर्ता गरिएको आयोगको निष्कर्ष छ। आचार्यसहित पाँच जनाविरुद्ध ४ करोड ५३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।