काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रूपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक/एक करोड रूपैयाँ र धादिङका लागि ५० लाख रूपैयाँ दिने निर्णय सरकारले गरेको थियो।
त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते छ करोड ५० लाख रूपैयाँ १६ गते छ करोड ५० लाख रूपैयाँ गरी १३ करोड ५० लाख रूपैयाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख रूपैयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागिदुई करोड रूपैयाँ, कालिका गाउँपालिकाका लागि ६० लाख रूपैयाँ र आमा छोदिङ्मो गाउँपालिकाका लागि४० लाख रूपैयाँ निकासा गरिसकेको छ।
त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड रूपैयाँ, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख रूपैयाँ, किस्पाङ गाउँपालिकाका लागि ५० लाख रूपैयाँ र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा रूपैयाँ गरिएको छ।
त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख रूपैयाँ, सिद्धलेक गाउँपालिकाका लागि४० लाख रूपैयाँ, गजुरी गाउँपालिकाका लागि ४० लाख रूपैयाँ र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख रूपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ। साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख रूपैयाँ तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख रूपैयाँ र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रूपैयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ मौज्दात रहेको छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।






About Us
प्रतिक्रिया