काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। उनले विपद्का बेला सरकार प्रभावित समुदायसम्म पुग्नुभन्दा सामाजिक सञ्जालमा प्रचारमुखी बनेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता आङदेम्बेले सरकार जोखिममा परेका नागरिकको जीवन बचाउनभन्दा प्रचार व्यवस्थापनमा बढी केन्द्रित भएको बताए। बाढी प्रभावित क्षेत्रमा समयमै सरकारी उपस्थिति नदेखिएको उल्लेख गर्दै उनले फिल्डमा भन्दा फेसबुकमा सरकार बढी सक्रिय देखिएको आरोप लगाए। ‘सरकारमा सामाजिक सञ्जालमा अल्झियो, जोखिममा परेका समुदायमा समयमा पुगेन,’ नेता आङदेम्बेले भने, ‘सरकारमा परिणाम दिन र प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो, हल्लामा लाग्यो।’
नेता आङदेम्बेले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदार तथा मजदुरको खोजी र उद्धारमा भएको ढिलाइप्रति गम्भीर प्रश्न उठाए। उद्धारका लागि प्रारम्भिक ७२ घण्टा सबैभन्दा महत्वपूर्ण हुने भए पनि सरकारले आवश्यक तत्परता नदेखाएको उनको भनाइ थियो। सातौँ दिनमा मात्रै सम्बन्धित आयोजनालाई उद्धार प्रक्रियामा संलग्न गराइनु सरकारको असंवेदनशीलताको उदाहरण भएको उनले बताए।
नेता आङदेम्बेले ढिलाइका कारण ज्यान गुमाएका व्यक्तिको मृत्यु स्वाभाविक दुर्घटना मात्रै हो वा राज्यको लापरबाहीको परिणाम भन्ने प्रश्न समेत उठाए। मन्त्रिपरिषद्का सदस्यकै आफन्त सुरुङभित्र फसेको भए सरकारले तत्काल विज्ञ, प्राविधिक र आवश्यक स्रोत–साधन परिचालन गर्थ्यो कि सामाजिक सञ्जालमै सीमित रहन्थ्यो भन्ने प्रश्न उनले गरे।
नेता आङदेम्बेले प्रतिपक्षको भूमिका सरकारको विरोध मात्र नभई आवश्यक खबरदारी गर्नु पनि भएको स्पष्ट पारे। राम्रो काममा समर्थन रहने तर कमजोरी देखिए प्रश्न उठाउनु नागरिकप्रतिको दायित्व भएको उल्लेख गर्दै उनले सरकारलाई आलोचनालाई आत्मसमीक्षाको अवसरका रूपमा लिन आग्रह गरे।
उनले भने, ‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’ नेता आङदेम्बेले विपद् व्यवस्थापनमा खोज तथा उद्धार कार्यलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्रभावित नागरिकको जीवन रक्षा राज्यको पहिलो जिम्मेवारी भएको बताए।






About Us
प्रतिक्रिया