रसुवा बाढीले गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गमा व्यापक क्षति


काठमाडौं  – रसुवा बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा व्यापक क्षति पुगेको प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले बताएका छन्। क्षतिग्रस्त सडक तथा पुलको मर्मत र पुनर्निर्माणलाई तीव्रता दिइएको उनले बताए।  गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटर क्षेत्रमा क्षति पुगेको छ। त्यसमध्ये बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १६ किलोमिटरमा आंशिक क्षति पुगेको छ।

यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ। बाढीका कारण ४८ वटा झोलुंगे पुलमा क्षति पुगेकोमा २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

हाल पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाउने कामसँगै बेलिब्रिज निर्माण अघि बढाइएको छ। तादी–देवीघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र पारिएको छ भने बेत्रावतीमा उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएपछि काम सुरु भइसकेको जनाइएको छ।

सडक निर्माण तथा मर्मतका लागि हाल ५० जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ। सडक बोर्डअन्तर्गत आपतकालीन रूपमा ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। थप आवश्यक रकम आयोजना अन्तर्गत विनियोजित बजेटबाट खर्च गर्ने गरी अनुमति दिइएको सरकारले जनाएको छ।

बाढीबाट प्रभावित भौतिक पूर्वाधारको क्षतिको विवरण हेलिकप्टर तथा पैदलमार्फत संकलन भइरहेको छ। यस क्रममा ३१ वटा मोटरेबल पुल बगेको विवरण प्राप्त भएको छ। तीमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भइसकेको छ भने थप २० स्थानमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ। प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण क्षतिग्रस्त मुग्लिन–काठमाडौं सडकको कृष्णभीर खण्डको मर्मत भदौ महिनाभित्रै सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।