क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाल सहभागी हुने


नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकाल सहभागी हुने भएका छन् । भदौ २१ गते हुने डिस्कोर्शको उद्घाटन सत्रमा अध्यक्ष ढकाल सहभारी हुने भएका हुन् ।

मुक्तिनाथ कृषि कम्पनीका निर्देशक समेत रहेका उनीसँग पुँजी बजारको लामो अनुभव छ । ढकालसँग नेपालको निजी क्षेत्र, शेयर बजार तथा वित्तीय क्षेत्रको विकासमा ३० वर्षभन्दा बढीको अनुभव छ। उनी मुक्तिनाथ क्यापिटलका पूर्वसञ्चालक समेत हुन् । उनी चिलिमे हाइड्रोका पनि बोर्ड सदस्य रहेका छन् ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।