काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सघाउन एभरेष्ट बैंकले सरकारलाई ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ। विपद्को यस घडीमा पीडितहरूलाई मलम लगाउने उद्देश्यसहित बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेको हो।
बैंकले उपलब्ध गराएको कुल ३ करोड ११ लाख ५४ हजार रुपैयाँमध्ये २ करोड ५१ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट व्यहोरिएको छ। बाँकी करिब ६० लाख ५५ हजार रुपैयाँ भने बैंकमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत तवरबाट संकलन गरिएको हो। नगद सहयोगका अतिरिक्त, कर्मचारीहरूकै पहलमा जुटाइएका अत्यावश्यक राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित सरकारी निकायलाई बुझाइएको बैंकले जनाएको छ।
विपद्ले निम्त्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा खटिने सम्पूर्ण सुरक्षाकर्मी, स्थानीय तह र सहयोगी संस्थाहरूको बैंकले उच्च प्रशंसा गरेको छ।






About Us
प्रतिक्रिया