भोटेकोशी विपद्पीडितका लागि इप्पानद्वारा १३ करोड सहयोग


काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र यससँग आबद्ध विद्युत कम्पनीहरूले १३ करोड १ रुपैयाँ सहयोग गरेका छन्। २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको महाविपत्तिका कारण ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएको इप्पानले जनाएको छ। बाढीका कारण अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत उत्पादन क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।

बाढीले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका जलविद्युत आयोजना तथा प्रसारण प्रणालीका संरचना क्षतिग्रस्त बनाएको छ। आयोजनाका भौतिक संरचनासँगै ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारसमेत गुमाउनुपरेको भन्दै इप्पानले दुःख व्यक्त गरेको छ। आफ्नै आयोजना तथा संरचनामा ठूलो क्षति व्यहोरेको अवस्थामा पनि विपद्पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले इप्पानले भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो। त्यसपछि इप्पानले आबद्ध जलविद्युत कम्पनीहरूलाई सहयोगका लागि आह्वान गरेको थियो।

इप्पानको आह्वानमा आबद्ध विद्युत विकासकर्ता तथा कम्पनीहरूले ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम एकमुष्ट रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे। कार्यक्रममा इप्पानसँग आबद्ध विद्युत विकासकर्ता तथा कम्पनीका प्रतिनिधिहरूले मन्त्री श्रेष्ठलाई चेक तथा भौचरसमेत हस्तान्तरण गरेका थिए।

रकम हस्तान्तरण गर्दै अध्यक्ष डाँगीले निजी क्षेत्रका विद्युत आयोजना आफैँ ठूलो क्षतिमा परेको अवस्थामा पनि पीडित नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नु आफ्नो दायित्व ठानेर सहयोग गरिएको बताए। ‘विपद्को समयमा निजी क्षेत्रका आफ्नै विद्युत आयोजनाहरू बगेर ठूलो क्षति भएको अवस्थामा पनि हामीले आफ्नो पीडालाई केही समयका लागि बिर्सेर अझ ठूलो पीडामा रहेका नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेका हौँ। राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो। यस्तो विपदमा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार छ,’ उनले भने।

अध्यक्ष डाँगीले यो सहयोग केवल आर्थिक सहयोग नभई आफ्नै आयोजना गुमाएका ऊर्जा उद्यमीहरूको संवेदना, सहकर्मी तथा कामदार गुमाएका कम्पनीहरूको पीडा र विपद्मा परेका नागरिकप्रतिको मानवीय दायित्वको अभिव्यक्ति भएको बताए। सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी महाविपत्तिपछि सरकार उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका काममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए।

आफ्नै आयोजनामा ठूलो क्षति व्यहोरेको अवस्थामा समेत इप्पान तथा आबद्ध कम्पनीहरूले पीडित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको भन्दै मन्त्री श्रेष्ठले प्राप्त सहयोगले सरकारको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण अभियानमा थप मनोबल बढाएको उल्लेख गरे। विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रलगायत सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दुवाडीले इप्पान तथा आबद्ध कम्पनीबाट प्राप्त सहयोगले सरकारले अघि बढाउने पुनःनिर्माणको काममा महत्वपूर्ण योगदान पुग्ने बताए।