सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा दिने


काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सभामुख अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट समेत नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैको साझा सहयोग आवश्यक रहेको भन्दै सभामुख अर्यालले आफ्नो तर्फबाट पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्। सभामुखको उक्त निर्णयले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।