रसुवा बाढीले १३३ मेगावाट विद्युत उत्पादन ठप्प, चिलिमेकाे पावर हाउसमा ६ कर्मचारी सम्पर्कविहीन


काठमाडौं – रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत रहेको चिलिमे क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण चिलिमे जलविधुत्मा ठुलो क्षेती पुगेको छ। उक्त विपत्तिबाट सडक सञ्जाल, विद्युत, पूर्वाधार, सञ्चार सेवा, स्थानीय बस्ती तथा अन्य सार्वजनिक संरचनाहरूमा गम्भीर क्षति पुगेको हो।

बाढीका कारण चिलिमे जलविद्युत कम्पनीद्वारा सञ्चालित २२।१ मेवा क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत रहेका ६ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। चिलिमे जलविद्युत केन्द्रको विद्युतगृहमा पुर्ण रूपमा क्षति भएकाले यो सञ्चालन हुने अवस्थामा नरहेको कम्पनीले जनाएको छ। साथै, यस कम्पनीको अगुवाइमा स्थापना भएको रसुवागढी हाइड्रोपावर कम्पनी अन्तर्गतको १११ मेवा क्षमताको रसुवागडी हाइड्रोपावर प्लान्ट पनि पुर्णरूपमा क्षति भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विषम परिस्थितिमा कम्पनी व्यवस्थापनकोतर्फबाट पावरहाउसमा फसेका कर्मचारीको उद्दार तथा त्यस क्षेत्रमा विजुली, सडक लगायतका पुर्वाधारहरूको मर्मत संभारका लागि पनि अधिकतम् प्रयासहरू भै रहेको छ। साथै, उद्धार तथा पूर्वाधार पुनःस्थापनाका लागि सरोकारवाला निकायबाट आवश्यक सहयोग उपलब्ध गराइदिन कम्पनीले अनुरोध समेत गरेको छ।