काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि उक्त रकम प्रदान गरेको हो।
कम्पनीका अनुसार सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सहरूको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ। सहयोग रकम कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दीपबहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
सिटिजन लाइफले विपद्को कठिन घडीमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको। यसैबीच, विपद्बाट प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्था बुझ्न कम्पनीले प्रभावित क्षेत्रका अभिकर्ता तथा कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएको जनाएको छ। प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा सम्बन्धित निकायसँग समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया