रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको नभेटिएपछि उद्धार टोली फर्कियो


रसुवा – रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत प्रयोग गरी खोजी गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको सचिवालयले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको उद्धार टोली रसुवाको सदरमुकाम धुन्चेतर्फ फर्किएको छ।