काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधान तथा व्यवस्थापनका लागि प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफललाई तीव्रता दिएका हुन्।
प्रधानमन्त्री शाहले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार, राहत वितरण र घाइतेहरूको व्यवस्थापनबारे विस्तृत जानकारी लिएका छन्। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले उद्धारका बाँकी सबै कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
उनले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेहरूको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्नसमेत निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले अब सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ। यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै आवश्यक सुरक्षा तथा उद्धार व्यवस्थापनबारे ब्रिफिङ लिने तयारी गरिएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न मानवीय संकटलाई तत्काल सम्बोधन गर्दै खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ।






About Us
प्रतिक्रिया