काठमाडौं – नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक केन्द्रीय समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनालाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघले २०८३ भदौ १० गते तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै बेपत्ता नागरिकको तत्काल खोज तथा उद्धार गर्न माग गरेको हो।
संघले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उद्धार तथा राहत कार्यमा अवरोध नपुग्ने गरी सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ।
विपद्का कारण प्रभावित भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षा तथा सहयोगलाई समेत प्राथमिकता दिन संघले सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ। संस्थागत कार्यसम्पादनभन्दा कर्मचारीको जीवन तथा सुरक्षा सर्वोपरि रहेको संघको भनाइ छ।
संघले प्रभावित नागरिकलाई खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक मानवीय सहायता उपलब्ध गराउन राज्यका सबै संयन्त्रलाई शीघ्र परिचालन गर्नुपर्नेमा जोड दिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को उद्धार, राहत र समन्वयसम्बन्धी निर्णयलाई पनि संघले सकारात्मक रूपमा लिएको जनाएको छ।
यसैगरी, संघले १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। उक्त रकम प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने संघले विश्वास व्यक्त गरेको छ। संघले विपद्को यस कठिन घडीमा आफ्ना सदस्य, सम्बन्धित संघ–संस्था तथा आम नागरिकसँग आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको जनाएको छ।






About Us
प्रतिक्रिया