रसुवा बाढीः खोज तथा उद्धारका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी परिचालित


काठमाडौं –  भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमान्डमा विभिन्न टोली परिचालन गरिएको छ।

प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालाको कमान्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपद् व्यवस्थापन, उद्धार, खोजी, राहत वितरण, शव सङ्कलन एवम् व्यवस्थापन लगायत समग्र कार्यको प्रभावकारी समन्वय भइरहेको छ। यसैगरी, प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको कमान्डमा रहेको शिक्षण अस्पताल महाराजगंजको कमाण्ड पोष्ट मार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्धार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको छ।

बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र सञ्चार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली समेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुरूप विपद् व्यवस्थापनको लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिदै आएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्ले भने,‘विपद्को समयमा नागरिकको जीउधनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो। सोही अनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्धार एवम् खोज कार्यमा कुनै पनि त्रुटि एवम् कमी कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम प्रयोग गरी नागरिकको जीउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ। बाढी प्रभावित क्षेत्रहरूमा उद्धार एवम् खोजको लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ।’

बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धार पश्चात् मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार एवम् खोजीको लागि ड्रोन एवम् कुकुर सहितको खोज तथा उद्धार टोली छुट्टाछुट्टै स्थानमा परिचालन गरिएको छ। कानुनी सहायता तथा घटनास्थल सम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ। 

काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ। शव सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ। 

 शव व्यवस्थापनमा शवको फोटो, भिडियो सहितको अभिलेखीकरण गरी डिएनए, औँठाछाप को नमुना समेत सङ्कलनको लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य गरिरहेको छ। साथै,  फेला परेका शवहरूको सनाखतको लागि शवहरूको तस्बिर ट्याग सहित नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।