काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को अवसरमा आयोजना गरेको ‘नेतृत्व उत्कृष्टता सम्मान–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। ‘एभरेस्ट वर्ष–बादलपारिको यात्रा’ मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी व्यवस्थापक सहभागी भएका थिए।
कम्पनीका सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्व स्थापित गरेको उल्लेख गर्दै आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। उनले यो सफलता अभिकर्ता, एजेन्सी व्यवस्थापक, कर्मचारी तथा ग्राहकहरूको विश्वास र मेहनतको परिणाम भएको उल्लेख गरे।
सञ्चालक विमल प्रसाद ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन आग्रह गरे।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरण, तथ्यमा आधारित निर्णय प्रणाली, स्वचालन तथा ग्राहकमैत्री डिजिटल सेवामार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, नेपालभर उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी तथा रणनीतिक सत्रसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
नेपाल लाइफले २५ वर्षको यात्रामा २८५ अर्ब रुपैयाँको जीवन बीमा कोष, ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी दर तथा ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी कायम गरेको जनाएको छ। कम्पनीको हालसम्मको कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ भने नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेर राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।
‘एभरेस्ट वर्ष–बादलपारिको यात्रा’ अभियानमार्फत नेपाल लाइफले विगत २५ वर्षका उपलब्धिलाई आगामी यात्राको आधार बनाउँदै ग्राहकको विश्वास, प्रविधि, नवप्रवर्तन, उत्कृष्ट सेवा र व्यावसायिक सुशासनलाई केन्द्रमा राखेर थप उचाइ र नयाँ कीर्तिमान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






About Us
प्रतिक्रिया