काठमाडौं- सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि ९ करोड २५ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख तथा १५ वटा स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत प्रदान गरेको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। यस्तै, हेलिकप्टर मार्फत ८ वटा उडान गरी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पुर्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ। भदौ १३ गते उत्तरगया र धुन्चेमा २ टन खाद्य सामग्री पठाइएको थियो।
त्यसैगरी, प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि आवश्यक सामग्रीसमेत हेलिकप्टरमार्फत पठाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक सामग्री वितरणलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ।






About Us
प्रतिक्रिया