काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा मर्चेन्ट बैंकर एसोसिएसन (एमबान) का अध्यक्ष रामेन्द्र रायमाझी सहभागी हुने भएका छन् । आगामी भदौ २१ गते हुने पहिलो डिस्कोर्शको उद्घाटन सत्रमा उनी सहभागी हुने भएका हुन् ।
उनीसँग लगानी, अनुसन्धान तथा वित्तीय क्षेत्रमा ज्ञान र अनुभव सँगालेका छन् । उनले आफ्नो व्यावसायिक करिअरको सुरुवात अर्न्स्ट एन्ड योङ ग्लोबल, भारतबाट गरेका हुन् । त्यहाँ उनले करिब चार वर्ष सिनियर फाइनान्सियल विश्लेषकका रूपमा काम गरे । रायमाझीसँग नेपालको पुँजी बजार तथा बैंकिङ्ग क्षेत्रमा एक दशक लामो अनुभव छ । उनले विशेषगरी इक्विटी रिसर्च तथा लगानी, पोर्टफोलियो व्यवस्थापन सेवा, वित्त, ट्रेजरी तथा अन्य मर्चेन्ट बैंकिङ्ग गतिविधिका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् ।
रायमाझीले बैंगलोर विश्व विद्यालयबाट ब्याचलर इन बिजनेस म्यानेजमेन्टमा डिग्री हासिल गरेका छन् । साथै, उनले बीएमएस कलेज अफ इन्जिनियरिङ बैंगलोरबाट मास्टर इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) पूरा गरेका छन् ।
नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।
क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।
डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।






About Us
प्रतिक्रिया