रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार कर्मचारीको सकुशल उद्धार


काठमाडौं – रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्।

प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो। मौसम प्रतिकूल हुँदा उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ।

यसैगरी, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारीलाई तीव्रता दिइएको बताइएको छ।

यसैबीच, बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ। टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ परिचालन गरिएको जनाइएको छ।

प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।