काठमाडौं- भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुन: स्थापना तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उपलब्ध वैकल्पिक प्राविधिक उपाय अवलम्बन गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ। नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ। बालाजु–त्रिशूली तथा चपली–देवीघाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनस्र्थापना गरिएको प्राधिकरणले जनाएको छ।
सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा समेत विद्युत् सेवा सुचारु गरिएको छ। रसुवामा विद्युत् आपूर्ति पुनस्र्थापनाका लागि सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुन: स्थापना गर्ने प्रयास भइरहेको छ। अत्यावश्यक स्थानमा विद्युत् उपलब्ध गराउन तीनवटा डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ।
यसैबीच, अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन गरिएको छ। अपर त्रिशूली–३ ‘ए’ अन्तर्गत शान्ति बजारमा फसेका सुत्केरीसहित सात जनाको उद्धार गरी त्रिशूली ल्याइएको छ। अन्य प्रभावित व्यक्तिको उद्धारका लागि पनि प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।






About Us
प्रतिक्रिया