प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गरिने


काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

यस्तै, गत बुधबार नेपाल–चीन सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा भएको क्षतिका कारण प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

बाढीबाट प्रभावित नागरिक तथा व्यवसायलाई राहत र पुनः स्थापनाका लागि आवश्यक आर्थिक तथा अन्य सहुलियत समेटेर प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको हो।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले भारतसँग सरकार–सरकार (जी२जी)  खरिद प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।