रसुवा बाढीः ९ बैंकका २७ कर्मचारी अझैँ सम्पर्कविहीन, क्षति विवरण संकलन सुरु 


काठमाडौं – रसुवामा आएको बाढीका कारण विभिन्न बैंकका २७ जना कर्मचारी अझैँ सम्पर्कविहीन रहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार ती कर्मचारीबारे थप जानकारी प्राप्त हुन सकेको छैन।

कोइरालाका अनुसार बाढीबाट भएकाे क्षतिकाे विवरण संकलन सुरू गरिएकाे छ। प्रारम्भिक रूपमा केही बैंकका शाखा पूर्ण रूपमा प्रभावित भएको जानकारी आए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए।

‘अहिले आंशिक जानकारी मात्रै आइरहेको छ। कतिपय बैंकमा आंशिक क्षति भएको छ भने कतिपयमा पूर्ण क्षति भएको हुन सक्छ, ती शाखामा ठुलो भौतिक क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, नगद तथा अन्य बैंकिङ्ग सम्पत्तिमा भएको क्षतिको पूर्ण विवरण भने सङ्कलन हुन बाँकी छ’ उनले भने।

उनका अनुसार बाढीका कारण विभिन्न बैंकका ९ वटा शाखा पूर्ण रूपमा प्रभावित भएका छन्। बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे लगायतका बैंकका शाखा कार्यालयमा क्षति पुर्याएकाे कोइरालाले बताए।