काठमाडौं – भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ।
घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र सञ्चार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो।
जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ। यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ।
साथै, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत सञ्चालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ।






About Us
प्रतिक्रिया