रसुवामा बाढीः अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा


काठमाडौं – अमेरिकी सरकारले रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको मिडिया नोटमा अमेरिकी विदेश मन्त्रालयले रसुवाको बाढीपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्य प्रयासमा सहयोग पुर्‍याउन विपद् प्रतिकार्य सल्लाहकारलाई खटाउने तयारीसमेत गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसलाई प्रदान गरेको विश्वव्यापी अनुदानमार्फत उक्त रकम उपलब्ध गराउनेछ। सहयोगबाट बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यक सेवामा सहयोग बताएको छ। 

अमेरिकी सरकारले बाढीमा परी ज्यान गुमाउने व्यक्तिका परिवार तथा प्रियजनप्रति समवेदना व्यक्त गर्दै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेको छ। साथै, काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा आवश्यक सहयोगका लागि स्थानीय अधिकारीहरूसँग निकट रूपमा समन्वय गरिरहेको जनाएको छ।