खोज तथा उद्धारमा सशस्त्र प्रहरीले खटायो ‘सीएसएसआर’ टिम, ७३ जनाको सकुशल उद्धार


काठमाडौं – सशस्त्र प्रहरी बलले विपद्को घटनास्थलमा खोज तथा उद्धारका लागि करिब १ हजार ३ सय ५० जनशक्ति परिचालन गरेको जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार हालसम्म ७३ जनाको सकुशल उद्धार गरिएको छ भने उद्धार गरिएकामध्ये करिब आधा जति घाइते छन्।

प्रवक्ता कार्कीका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष तालिमप्राप्त विभिन्न टोलीहरू घटनास्थलमा खटिएका छन्। उद्धार टोलीमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टोलीसमेत परिचालन गरिएको छ। सीएसएसआर टोली भत्किएका वा जोखिमपूर्ण संरचनाभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारमा विशेषज्ञ टोली हो। आवश्यक परे संरचना भत्काउने, प्वाल पार्ने तथा अन्य प्रविधि प्रयोग गरी पीडितसम्म पुग्ने काम यो टोलीले गर्ने प्रवक्ता कार्कीले बताए।

त्यसैगरी, उद्धारका लागि तीन वटा कुकुरसहितको डग स्क्वाड र पाँच वटा ड्रोनसहितको ड्रोन स्क्वाड परिचालन गरेको उनले जानकारी दिए। साथै,  विशेषज्ञ चिकित्सकसहितका दुई वटा टोली पनि बुधबारदेखि नै परिचालन गरिएको कार्कीले जानकारी दिए। साथै, सशस्त्र प्रहरी बलका १३ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रवक्ता कार्कीले बताएका छन्।