रसुवा बाढीमा खोज तथा उद्धारका लागि निजी हेलिकप्टर परिचालन


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरसमेत परिचालन गरिने भएको छ। जथाभावी हेलिकप्टर उडान गर्दा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार कार्यलाई सरकारी समन्वयमा व्यवस्थित गर्न निर्देशन दिएको छ।

प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिमार्फत आवश्यक निर्णय गरी उडान सञ्चालन गर्न भनेको छ।

नेपाली सेनाको हेलिकप्टर आवश्यक परे सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ। सम्भावित हेलिकप्टर दुर्घटना तथा अन्य प्राविधिक जोखिमलाई मध्यनजर गर्दै उद्धारमा संलग्न सबै हेलिकप्टरलाई सरकारी समन्वय र व्यवस्थित हवाई सञ्चालन प्रणालीअन्तर्गत परिचालन गर्न लागिएको हो।