काठमाडौं -प्रधानमन्त्री बालेन्द्र शाहले देशले अकल्पनीय रूपमा भोगिरहेको विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतमा जुटिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सिङ्गो देश, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा विपत्तिको सामना गरिने बताएका हुन्। उनले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्रीका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसैगरी टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। उद्धार तथा राहतका लागि जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायतका सामग्री प्रभावित स्थलमा पठाइँदै छ। प्रधानमन्त्रीका अनुसार छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिनेछ। यसले प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा अस्थायी शिविर तयार पारिएको छ भने त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको छ। साथै, ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ। प्राप्त विवरणले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको उनले बताएका छन्। उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्ध वृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्रीले बताएका छन्। उनले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन्।






About Us
प्रतिक्रिया