काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नेपालमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा वर्षको असार महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको थियो।
अमेरिकी डलरमा भने समीक्षा वर्षमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रहेको थियो।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ रहेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ५ लाख ५ हजार ९५७ रहेको थियो।
त्यस्तै, समीक्षा वर्षमा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ८५ हजार ७८३ पुगेको छ। अघिल्लो वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो।






About Us
प्रतिक्रिया