काठमाडौं – पछिल्लो बाढी तथा पहिरोका कारण मानव बस्ती, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीबाट त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनासमेत प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विपद्को यस घडीमा प्रभावित समुदाय तथा विद्युत् क्षेत्रसँगै रहेको जनाएको छ। इप्पानले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको जनाएको छ।
इप्पानका अनुसार प्रारम्भिक विवरणमा नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको छ।
प्राप्त विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजना प्रभावित भएका छन्। त्यसैगरी नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजना समेत क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी इप्पानले दिएको छ।
विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्। यसले बाढीको प्रत्यक्ष क्षतिसँगै विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा समेत गम्भीर असर पारेको छ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेको छ।
इप्पानले निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई समेत विपद्बाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेको छ। यसैगरी, बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा राष्ट्रिय विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन इप्पानले सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।






About Us
प्रतिक्रिया