रसुवा बाढी: उद्धारको पर्खाइमा रहेकालाई धुँवा निकालेर संकेत गर्न प्राधिकरणको आग्रह


काठमाडौं – रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर र ड्रोन परिचालन गर्न आग्रह गरेको छ। प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको हो।

उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफू रहेको स्थानमा आगो बालेर धुँवा निकाल्न पनि प्राधिकरणले सुझाव दिएको छ। यसबाट उद्धार टोलीलाई प्रभावित व्यक्ति रहेको स्थान पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ। प्राधिकरणले बाढी तथा विपद्सम्बन्धी उद्धार र समन्वयका लागि आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।