रसुवाको बाढीमा वाणिज्य बैंकका ९ शाखा प्रभावित, आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन


काठमाडौं – रसुवाको टिमुरे क्षेत्रमा बुधवार बिहान आएको भोटेकोसीको भीषण बाढीले बस्ती तथा भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठुलो क्षति पुर्‍याएको छ। तर, यकिन विवरण सङ्कलनमा समस्या भएको नेपाल बैंकर्स संघले जनाएको छ। 

बाढी प्रभावित क्षेत्रमा ९ वटा वाणिज्य बैंकका शाखा रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ्ग समाचारलाई जानकारी दिए।उनका अनुसार ती शाखाहरूमा के कति क्षति भएको छ भने विवरण आइसकेको छैन।

साथै, उनले त्यस क्षेत्रमा जान सकिने अवस्था पनि नरहेकाले गर्दा  बैंकहरुको सहकार्यमा कति कर्मचारी रहेको विवरणहरू निकाल्दै गरिएको बताए। अध्यक्ष काेइरालाका अनुसार कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

संघका अनुसार टिमुरे क्षेत्रमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा सञ्चालनमा थिए।