रसुवामा भीषण बाढीपछि सबैलाई आ-आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – रसुवामा आएको भीषण बाढीले पुर्‍याएको क्षतिको विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ। 
 
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रसुवामा आएको बाढीबाट भएको क्षतिको समीक्षा तथा आगामी कदमबारे छलफल गर्न परिषद्को बैठक बोलाएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीका कारण अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका थिए। बैठकमा विपद्पछिको उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ। 

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। उनले विपद्को यस कठिन समयमा सबैलाई आ–आफ्नो ठाउँबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न आग्रहसमेत गरेका छन्।