काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको जनाउँदै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ। खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल–फ्री नम्बर १००, १२३४ र १११४ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न प्राधिकरणले अनुरोध गरेको छ। ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई समेत आग्रह गरिएको छ। प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै निकाय तथा नागरिकलाई अपिल गरेको छ।






About Us
प्रतिक्रिया