भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह


काठमाडौं – गृह मन्त्रालयले रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको भन्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेकाले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल–फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी, मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत अनुरोध गरेको छ।