नेपाल क्यापिटल मार्केट डिस्कोर्श, सेबोन अध्यक्ष डा. भट्टले उद्घाटन गर्ने


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्श–२०२६ नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले उद्घाटन गर्ने भएका छन् । आगामी भदौ २१ गते हुने नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सेबोन अध्यक्ष भट्टले गर्ने भएका हुन् ।

भदौ २१ गते हुने नेपाल क्यापिटल मार्केट डिस्कोर्शमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछ । आइतबार १२ बजेदेखि सुरु हुने सो कार्यक्रममा उद्घाटन सत्र, ३ वटा सत्रगत छलफल र  एउटा विशेष सत्र सञ्चालन  हुनेछ । नीति तथा नियमन, शेयर साक्षरता र प्रविधिसँग सम्बन्धित ३ वटा छुट्टाछुट्टै सत्रगत छलफल हुनेछ ।

ति सत्रहरूमा सेबोनका कार्यकारी निर्देशक, मर्चेन्ट बैंकरका प्रतिनिधि, ब्रोकर कम्पनीका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङका प्रतिनिधि र पुँजी बजारका सरोकारवालाको सहभागिता रहनेछ । 

अध्यक्ष भट्टसँग विशेष डुओलग

कार्यक्रमको समापनअघि अर्थात् सत्रगत छलफल सकिएपछि बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले सेबोन अध्यक्ष भट्टसँग विशेष डुओलग गर्नेछन् । अध्यक्ष भट्टले दिनभर उठेका विषयमा सेबोनको धारणा पेस गर्नेछन् । आयोजकले अध्यक्ष भट्टसँगको यो प्रत्यक्ष संवादलाई कार्यक्रमको प्रमुख आकर्षणका रूपमा लिएको छ । 

नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो । सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन् ।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरूको सहभागिता रहनेछ । यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।