अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन हुनुपर्छः अध्यक्ष श्रेष्ठ


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई गति दिन र तोकिएका लक्ष्यहरू पूरा गर्न अर्थतन्त्रको ‘पुनर्संरचना’ गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य राखेको सन्दर्भमा अध्यक्ष श्रेष्ठले यसका लागि सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बताए।

‘गत वर्ष करिब १ खर्ब ६ अर्बको आयात हुँदा यो क्षेत्रले ८१–८२ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ। यति ठुलो योगदान दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ,’ उनले भने।

अध्यक्ष श्रेष्ठले सरकारको औद्योगिक नीतिको आलोचना गर्दै नयाँ उद्योग खोल्न प्रोत्साहन गर्ने तर सञ्चालनमा रहेका उद्योगका समस्या नसुन्ने प्रवृत्ति घातक भएको बताए। ‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, हामी सहुलियत दिन्छौँ’ भन्नुभएको थियो,’ उनले भने, “तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ ? सरकारले कहिल्यै चासो दिएको छैन।’

सरकारले २०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने कुरा गरिरहेका बेला अध्यक्ष श्रेष्ठले वर्तमानमा चलिरहेका र निजी क्षेत्रले लगानी गरेका उद्योगहरूको संरक्षण प्राथमिकतामा पर्नुपर्ने बताए। उनले पुरानो नेपाली उखान उद्धृत गर्दै भने,’बुढापाकाले भन्थे नि,‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला’ भन्ने कुरामा सरकार सचेत हुनुपर्छ। नयाँ उद्योग खोल्ने कुरा गर्दा भइरहेका उद्योगहरू धराशायी नहोउन् भन्नेमा ध्यान दिनु आवश्यक छ।’