काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा योजनाको बिक्रीमा हुने गलत अभ्यास नियन्त्रण गर्न जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई कडा निर्देशन दिएको छ। प्राधिकरणको नियमन शाखाले परिपत्र नै जारी गरेर बीमा योजनाबारे ग्राहकलाई सही, पूर्ण तथा तथ्यपरक सूचना उपलब्ध गराउन निर्देशन दिएको हो।
प्राधिकरणले बीमा योजनालाई मुद्धती निक्षेप, ब्याज दिने योजना, डबल मनी योजना, निश्चित लगानी प्रतिफल लगायतका नाममा निक्षेप वा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न रोक लगाएको छ। साथै, बीमालेखका शर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गएर निश्चित बोनस, प्रतिफल, रकम वा अन्य लाभ प्राप्त हुने आश्वासन दिनसमेत नपाइने प्राधिकरणले स्पष्ट पारेको छ।
बीमा कम्पनीले स्वीकृत गरेको प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचार गर्न पनि रोक लगाइएको छ। प्राधिकरणले बीमालेख बिक्री गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमाको उद्देश्यलाई ध्यानमा राखी उपयुक्त योजना सिफारिस गर्न बीमा कम्पनी तथा अभिकर्तालाई निर्देशन दिएको छ।
बीमा कम्पनीहरूले अभिकर्ताले प्रयोग गर्ने बिक्री सामग्रीको परीक्षण, ग्राहक गुनासोको विश्लेषण तथा सम्बोधन र सामाजिक सञ्जालमार्फत हुने बीमा प्रचारको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेछ। यसैगरी, मिसु सेलिङसम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाहीसम्बन्धी विवरण प्रत्येक त्रैमासिक रूपमा प्राधिकरणमा पेश गर्नुपर्नेछ।
प्राधिकरणले जारी गरेको परिपत्र तथा अन्य नियामकीय व्यवस्थाको उल्लंघन गरी बीमालेख बिक्री गर्ने, गलत सूचना दिने, भ्रामक प्रचार गर्ने, अतिरञ्जित दाबी गर्ने वा बीमालेखका वास्तविक शर्त तथा प्रतिफल लुकाउने बीमा अभिकर्ता तथा बीमकलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्नेसम्मको चेतावनी दिएको छ।






About Us
प्रतिक्रिया