काठमाडौं – भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा भन्सार छली गरी ल्याइएका इलेक्ट्रोनिक्स सामग्री, चुरोट र सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार चीनका नागरिक र धनुषाका एक व्यक्तिलाई फरक-फरक मितिमा भन्सार छलीका सामग्रीसहित पक्राउ गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुजा र यात्रुहरूको प्रयोग गरी नेपालमा ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री बरामद गरेको छ। विमानस्थलबाट पक्राउ पर्ने चीना नागरिक चेन जुनसान र धनुषाका कृष्ण यादव रहेका छन्। उनीहरूबा करिब ७२ लाख २५ हजार रुपैयाँ बराबरको अवैध इलेक्ट्रोनिक सामान र ७५ ग्राम सुनका सिक्री नियन्त्रणमा लिइएकाे हाे।
भदौ ६ गते चीनका जुनसान चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका थिए। अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शंका लागेपछि जाँच गर्दा उनको साथबाट बिलबिजक नभएका विभिन्न मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, ल्यापटपका डिस्प्ले कभरलगायत सामग्री र चुरोट बरामद भएको हो।
बरामद सामग्रीको अन्दाजी मूल्य ७२ लाख २५ हजार रहेको प्रहरीले बताएको छ। बरामद सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धान र प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ। त्यसैगरी, २०८३ भदौ ५ गते दोहा हुँदै नेपाल एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुहरूलाई प्रयोग गरी सुन ओसारपसार भएको सूचनाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा निगरानी तथा खोजतलास गरिएको थियो।
सो क्रममा धनुषाका यादवले विदेशबाट आएका तीन जना यात्रुहरूबाट सङ्कलन गरी ल्याएका सुनजस्तो देखिने पहेँलो धातुका तीन थान सिक्री, अन्दाजी तौल ७५ ग्राम, बरामद गरिएको छ। यात्रुहरूलाई उक्त सामग्री ल्याइदिएबापत जनही १० हजारका दरले जम्मा ३० हजार ज्याला दिन लागेको अवस्थामा रकमसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। यादवलाई नियन्त्रणमा लिई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
पहिलो घटनामा प्रहरीले मोबाइलको डिस्पेल २६५ थान, मोबाइल कबर २५७ थान, आइफोन मोबाइल राख्ने खाली बाकस ९ ओटा, आइफोन १७ प्रो, १६ प्रो म्याक्स, १५ र १४ मोडलका सेटहरू, ५ वटा एचपी ल्यापटप र २६ बण्डल विदेशी चुरोट समेत बरामद गरेको छ। साथै, दोस्रो घटनामा सुनजस्तो देखिने पहेँलो धातुका तीन थान सिक्री यात्रुहरूलाई ज्यालाबापत दिन लागिएको नेपाली नगद ३० हजार बरामद भएको छ।






About Us
प्रतिक्रिया