राष्ट्रिय परिचयपत्र अपडेट नगरे मोबाइल बैंकिङ्ग बन्द हुने भन्दै हुने ठगीका घटना बढे 


काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय परिचयपत्र अपडेट नगरे मोबाइल बैंकिङ्ग बन्द हुने भन्दै हुने ठगीका घटना बढ्दै गएको जनाएको छ। राष्ट्रिय परिचयपत्र लिंक नभएको कारण २४ घण्टाभित्र मोबाइल बैंकिङ्ग सेवा बन्द हुने भन्दै सामाजिक सञ्जाल तथा मोबाइलमा फैलिरहेका सन्देश पठाउने घटना बढेको ब्युरोले जनाएको हो। 

‘राष्ट्रिय परिचयपत्र एनआईडी लिंक नभएको कारण तपाईँको मोबाइल बैंकिङ्ग सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्दै शङ्कास्पद लिंकमा क्लिक गर्न आग्रह गर्ने सन्देशहरू अफवाहयुक्त रहेको भन्दै साइबर ब्युरोले त्यस्ता मेसेजमा विश्वास नगर्न आग्रह गरेको छ। 

साइबर ब्युरोले बैंक तथा वालेटसम्बन्धी कुनै पनि सूचना प्राप्त गर्दा सम्बन्धित बैंक वा वालेटका आधिकारिक माध्यमबाट मात्र जानकारी लिन सुझाव दिएको छ। सर्वसाधारणले यस्ता शङ्कास्पद लिंकमा क्लिक नगर्न, व्यक्तिगत विवरण, पासवर्ड, ओटीपी तथा बैंकिङ्गसम्बन्धी संवेदनशील जानकारी उपलब्ध नगराउन र शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

यस किसिमका सन्देशमार्फत प्रयोगकर्तालाई नक्कली वेबसाइटमा पुर्‍याएर बैंकिङ्ग  विवरण चोरी गर्ने प्रयास हुन सक्ने भएकाले डिजिटल कारोबार गर्दा थप सतर्कता अपनाउन ब्युरोले आग्रह गरेको छ।