मैले कर्जा दुरुपयोग गरेको छैन: अध्यक्ष शर्मा


काठमाडौं – एशियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्माले प्रभु बैंकबाट लिएको  ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग नगरेको दाबी गरेका छन्। बयानका क्रममा उनले कर्जाको अधिकांश रकम रिसोर्टका लागि जग्गा खरिद गर्न पेश्की तथा बैना स्वरूप सम्बन्धित जग्गाधनीहरूलाई भुक्तानी गरिएको बताएका छन्।

उनले बयानमा भनेका छन्, ‘मैले कर्जा रकमको दुरुपयोग गरेको छैन। मैले एशियन भिलेज रिसोर्ट प्रा।लि।को नाममा करिब १०० करोड बराबरको जग्गा खरिद गर्नु पर्ने हो। मैले जम्मा ४८ करोड ऋण लिएको छु। सो ऋण रकम सम्वन्धित जग्गाधनीलाई पेश्की स्वरुप दिएको छु। पुरा रकम चुक्ता गर्न नसकेको कारण कम्पनीको नाममा जग्गा नआएको हो। कर्जाको सम्पूर्ण प्रकृयामा म प्रभु बैंक मणिग्राम शाखाको शाखा प्रमुख सन्तोष ज्ञवालीसँग मात्र सम्पर्कमा थिए। जग्गा कम्पनीको नाममा नामसारी गर्दा जो जसको नाममा जग्गा रहेको छ, उसको नाममा कम्पनीबाट पैसा गएको देखिनुपर्ने भएको हुँदा पैसा विभिन्न व्यक्तिको खातामा गई घुमेको देखिएको हो। ’ 

शर्माका अनुसार एशियन भिलेज रिसोर्ट १५१ बेडरुम क्षमताको पाँचतारे होटल निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको हो। कम्पनीको चुक्ता पुँजी हाल ९८ करोड ९५ लाख रुपैयाँ रहेको र कम्पनीको दैनिक सञ्चालन, बैंकिङ्ग कारोबार तथा वित्तीय निर्णय आफूले नै गर्दै आएको उनले बताएका छन्। बयानमा शर्माले सुरुमा कम्पनी आफ्ना सहोदर भाइ शिशिर पौड्यालको नाममा रहेपनि कम्पनी खरिद गर्दादेखि नै आफूले सम्पूर्ण कारोबार गर्दै आएको उल्लेख गरेका छन्। मायादेवी गाउँपालिका–४ मा रिसोर्ट विस्तारका लागि जग्गा आवश्यक भएपछि भाइको नामबाट आफ्नो नाममा शेयर हस्तान्तरण गरिएको उनको भनाइ छ।