काठमाडौं – सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य बनाउने प्रक्रिया अघि बढाएको छ। अर्थ समितिको सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफिया संशोधन गर्न लागिएको जानकारी दिएका हुन्।
अर्थमन्त्री वाग्लेकाअनुसार बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको हो। हाल प्रचलित व्यवस्थाअनुसार नियमनकारी निकायले कानूनविपरीत कार्य गरेको भन्दै कारबाही गरेको वा कारबाही भएको पाँच वर्ष पूरा नभएको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउँदैन। प्रस्तावित संशोधनमा भने सामान्य रूपमा सचेत गराइएका वा नसिहत पाएका व्यक्तिका हकमा उक्त प्रावधान लागू नहुने व्यवस्था थप्न लागिएको मन्त्री वाग्लेले बताए।
मन्त्री वाग्लेका अनुसार यसका लागि छुट्टै बाफिया संशोधन विधेयक आवश्यक पर्ने छैन। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ मार्फत नै बाफियाको सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्ताव अघि बढाइएको छ। अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरी कानून मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए। उनले राष्ट्र बैंक ऐनमा मात्र व्यवस्था गर्दा अपूरो हुने भएकाले बाफियामै स्पष्ट व्यवस्था गर्नु उपयुक्त हुने बताए। साथै, विषयमा थप स्पष्ट हुन कम्तीमा २४ घण्टा समय लिएर पुनः छलफल गर्न पनि उनले प्रस्ताव गरेका छन्।






About Us
प्रतिक्रिया