चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने सरोज खनाल पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भई काठमाडौंको नयाँ बसपार्क बस्दै बस्ने सरोज खनाल छन्। 

खनाल नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा यात्रुले स्कुटरमै बिर्सिएको ल्यापटपको झोला लिएर सम्पर्कविहीन भएका थिए। घटनाबारे जानकारी पाएपछि ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा उनलाई नयाँ बसपार्कस्थित एक होटेलबाट पक्राउ गरेको  काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिए।

अनुसन्धानका क्रममा उनले तेस्रो व्यक्तिको राइड शेयरिङ आइडी प्रयोग गर्दै आएको खुलेको उनले बताए। प्रहरीका अनुसार केही समयअघि उनले गोङ्गबुबाट एउटा स्कुटरसमेत चोरी गरेका थिए। चोरी भएका सवारीसाधन खोजी गरी धनीलाई बुझाउने क्रममा एक मोटरसाइकलको डिकीभित्र खनालको नागरिकता फेला परेपछि उनी लामो समयदेखि सवारी चोरीमा संलग्न रहेको आशङ्का गरिएको  सुवेदीले बताए। 

साथै, उनी मोटरसाइकल चोरी कार्यमा लामो समयदेखि  संलग्न हुँदै आएको र अन्य मोटरसाइकल पनि चोरी गरेको हुन सक्ने भन्दै थप अनुसन्धान अघि बढाइएको उनले बताए।  फेला परेको ल्यापटप सम्बन्धित व्यक्तिलाई बुझाएको उनले बताए।