इटहरी- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आयोजित ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ मा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा अभिकर्ताहरूलाई व्यावसायिक आचरण, पारदर्शिता र बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
उनले ग्राहकको आर्थिक अवस्था, आवश्यकता तथा जोखिमको उचित मूल्याङ्कन गरी उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताए। बीमा योजनाका सुविधा, सर्त, जोखिम र दायित्वबारे ग्राहकलाई स्पष्ट जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए।

बीमा क्षेत्रमा हुने गलत वा भ्रामक बिक्री (मिसेलिङ) न्यूनीकरणमा अभिकर्ताको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै महर्जनले सही र पूर्ण सूचना प्रवाह गर्न आग्रह गरे। अभिकर्ताको व्यवहारले कम्पनीको प्रतिष्ठा तथा समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो।
बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्त्वपूर्ण दायित्व रहेको उनले बताए। कार्यक्रममा कम्पनीका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो।






About Us
प्रतिक्रिया