प्राणघातक जापानिज इन्सेफलाइटिसबाट जोगिन सरकारको आग्रह


काठमाडौं-लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) रोगको संक्रमण र मृत्युको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चालु वर्षमा हालसम्म देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको महाशाखाले जनाएको छ।

तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण झापामा देखिएको छ, जहाँ १० जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ। त्यसपछि कैलाली र मोरङमा ७/७ जना, सप्तरी र कञ्चनपुरमा ६/६ जना तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ। तराई र भित्री मधेशमा संक्रमण बढी भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली र सुर्खेतजस्ता पहाडी जिल्लामा समेत संक्रमण देखिएको छ।

महाशाखाका अनुसार पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। हालसम्म संक्रमित ८० जनामध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका रहेका छन् भने मृत्यु हुनेमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति रहेका छन्।

जापानिज इन्सेफलाइटिस संक्रमित ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। संक्रमित सुँगुर, बङ्गुर तथा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्ने गर्दछ। अधिकांश संक्रमित धानखेती तथा सुँगुरपालन हुने क्षेत्रमा बसोबास गर्ने गरेको महाशाखाको भनाइ छ।

रोग लागेमा सुरुमा रुघाखोकीजस्ता सामान्य लक्षण देखिए पनि पछि उच्च ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, झर्को मान्ने, बर्बराउने, मुर्छा पर्ने तथा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न महाशाखाले आग्रह गरेको छ।

महाशाखाले लामखुट्टेको टोकाइबाट बच्न घरका झ्यालढोकामा जाली लगाउने, घर वरिपरि पानी जम्न नदिने, शरीर पूरै ढाकिने कपडा लगाउने, झुलभित्र सुत्ने, लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गर्ने तथा १२ महिनाका बालबालिकालाई अनिवार्य रूपमा जेईविरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ।